१८ भदौ, काठमाडौँ । एएफसी यू–२३ एशियन कप छनोट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टिम ताजिकिस्तानविरुद्ध खेल्दै छ। समूह ‘के’ अन्तर्गतको यस खेललाई नेपालको यात्रा निर्धारण गर्ने महत्त्वपूर्ण प्रतियोगिता मानिएको छ।
खेलअघि भएको प्रिम्याच पत्रकार सम्मेलनमा नेपालको यू–२३ टिमका प्रशिक्षक नवीन न्यौपानेले टिम पूर्ण तयारीसहित मैदानमा उत्रने बताए। उनले भने, “हामी जित्न तयार छौँ। अहिले हाम्रो सम्पूर्ण ध्यान ताजिकिस्तानविरुद्धको खेलमा केन्द्रित छ।”
नेपालले समूह चरणको पहिलो खेल ताजिकिस्तानसँग खेलेर प्रतियोगिता सुरु गर्नेछ। त्यसपछि भदौ २१ गते सिरिया र भदौ २४ गते फिलिपिन्ससँग भिड्ने कार्यक्रम छ।
प्रशिक्षक न्यौपानेका अनुसार यस समूहका सबै टिम बलिया भए पनि नेपालले करिब दुई महिनाको तयारीसहित प्रतिस्पर्धामा उत्रिएको छ।
यस पटकको नेपाली टोलीको नेतृत्व राष्ट्रिय टिमका अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन्। टोलीमा कृशल मोक्तान, अमित टमाटा, विशाल केसी (गोलरक्षक), विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारू र सीमान्त थापा (डिफेन्डर) समावेश छन्।
मिडफिल्ड लाइनमा कप्तान आयुषसँगै अभिषेक स्याङ्तान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन्। आक्रमणतर्फ गोल गर्ने मुख्य जिम्मेवारी फरवार्ड रोहन खड्गी र नीराजन धामीले वहन गर्नेछन्।
नेपालले ताजिकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्दै समूह चरणमा उत्कृष्ट सुरुवात गर्ने अपेक्षा गरिएको छ।

















