१८ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्षको बर्खास्ती एक महिना पनि भएको छैन । उनको योग्यतामाथि प्रश्न उठेपछि बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्तमा परे ।
उनको बर्खास्तीपछि अब नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठको योग्यतामाथि पनि प्रश्न उठेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठको नियुक्ति प्रक्रिया र अनुभवसम्बन्धी योग्यतामाथि छानबिन सुरु गरेको छ ।अख्तियारका अनुसार, धितोपत्र बोर्डको अध्यक्ष हुन कानुनले स्नातकोत्तर उपाधिसहित सम्बन्धित क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव तोकेको छ । तर, श्रेष्ठले पेश गरेका कागजातहरूमा कैफियत देखिएको र उनको अनुभव ऐनले तोकेअनुसारको ‘दैनिक कार्य सञ्चालन गर्ने प्रकृतिको व्यवस्थापकीय जिम्मेवारी’ नरहेको अख्तियारको भनाइ छ।
अख्तियारको अनुसन्धान र अर्थ मन्त्रालयलाई निर्देशन
अख्तियारमा उजुरी परेपछि गरिएको प्रारम्भिक छानबिनमा श्रेष्ठको योग्यता कैफियतपूर्ण देखिएको छ। यस सम्बन्धमा अख्तियारले आवश्यक कागजात र प्रतिवेदन एक महिनाभित्र पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । श्रेष्ठले आफ्नो अनुभवका रूपमा विभिन्न कम्पनी र संस्थाहरूमा निर्देशक वा अध्यक्ष भएर काम गरेको विवरण दिएका छन् । तर, अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यी पदहरू नियमित व्यवस्थापकीय जिम्मेवारी नभई केवल नीतिगत निर्णय गर्ने प्रकृतिका थिए ।
नियुक्ति प्रक्रियामा विवाद
विवादित र उतारचढावले भरिएको प्रक्रियापछि २०८१ मंसिर १० मा श्रेष्ठ धितोपत्र बोर्डका अध्यक्ष नियुक्त भएका थिए। उनको नियुक्ति प्रक्रिया रद्द गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पनि पुरानै प्रक्रियालाई निरन्तरता दिँदै उनलाई नियुक्त गरिएको थियो ।
यदि अख्तियारको छानबिनबाट श्रेष्ठको योग्यता नपुगेको प्रमाणित भएमा, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझाको जस्तै उनलाई पनि पदबाट बर्खास्त गरिन सक्ने सम्भावना छ । यस घटनाले नियामक निकायका प्रमुखहरूको नियुक्ति प्रक्रियामा थप पारदर्शिता र कडाइको आवश्यकता देखाएको छ ।















