१८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजा फैलिएको १३ दिन बितिसक्दा पनि संघीय तथा प्रदेश सरकारले संक्रमणको कारण पत्ता लगाउन नसकेको देखिएको छ। हैजा संक्रमणका विरामीको संख्या दिनप्रतिदिन घट्दो अवस्थामा रहेपनि संक्रमणको स्रोत अझै रहस्यमै रहँदा आम नागरिकमा त्रास फैलिएको छ।
संघीय सरकारको स्वास्थ्य मन्त्रालय र मधेस प्रदेश सरकार दुबैको तर्फबाट हालसम्म हैजाको आधिकारिक परीक्षण रिपोर्ट सार्वजनिक गरिएको छैन। यसले संक्रमण फैलिएको स्रोतबारे भ्रम र शंका उत्पन्न गराएको छ। स्थानीयबासीहरूमा सरकारले रिपोर्ट लुकाएको आशंका समेत बलियो बन्दै गएको छ।
७२ घन्टामा आउनुपर्ने रिपोर्ट १३ दिनपछि पनि हराइरहेपछि शंका
चिकित्सकहरूका अनुसार, पानी वा रोगको कल्चर रिपोर्ट आउने समय अधिकतम ७२ घन्टा हो। तर वीरगञ्जमा हैजा देखा परेको ३१२ घन्टा (१३ दिन) बितिसक्दा पनि रिपोर्ट सार्वजनिक गरिएको छैन। वीरगञ्जका चिकित्सक डा. निरज सिंह भन्छन्, “पानीको जीवाणुको रिपोर्ट ७२ घन्टाभित्र आउनुपर्ने हो। तर अहिलेसम्म नआउनु निकै शंका लाग्दो छ।”
संक्रमणको अवस्था : के तथ्यांक भन्छ?
महानगरको पछिल्लो तथ्यांकअनुसार, आज (१३औँ दिन) मात्रै २३ नयाँ शंकास्पद हैजा संक्रमित भेटिएका छन्। हालसम्म कुल ८९९ जना झाडापखाला र शंकास्पद हैजा संक्रमित अस्पताल भर्ना भएका छन्, जसमध्ये ७९९ जना निको भएर घर फर्किएका छन्।
यसमध्ये १७६ जनामा हैजा पुष्टि भएको छ भने १६२ जना उपचारपछि घर फर्किसकेका छन्।
संघीय स्वास्थ्य मन्त्रालयबाट खटिएको डा. विशाल सुवेदी नेतृत्वको तीन सदस्यीय टोलीले प्रारम्भिक रुपमा पानी सप्लाई प्रणालीबाट हैजा फैलिएको आशंका गरेको छ। यद्यपि, पानीको परीक्षण रिपोर्ट भने उनीहरूसँग नरहेको स्पष्ट पारेका छन्।डा. सुवेदी भन्छन्, “हामीले केस बेस अध्ययन गरेका हौं। पानी परीक्षण खानेपानी मन्त्रालयको टोलीले गरिरहेको छ, त्यसको रिपोर्ट हामीसँग छैन।”
जिम्मेवारीबाट पन्छिँदै सरकारका निकायहरू
प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय र संघीय मन्त्रालय दुबै तर्फबाट अध्ययन टोली खटिएको भए पनि दुवै निकायले परीक्षण रिपोर्ट आफूसँग नभएको भन्दै जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन्। प्रदेशका जनस्वास्थ्य अधिकृत ठाकुरले भने, “हामीले दिशा परीक्षणबाट कोलेरा पुष्टि ग¥यौं, पानी परीक्षणका लागि खानेपानी मन्त्रालयलाई सिफारिस गरिसकेका छौं।”
’रिपोर्ट लुकाइएको हो?’ भन्ने शंका चुलिंदै
वीरगञ्जमा हैजा संक्रमण सुरु भएको करिब दुई सातासम्म पनि परीक्षण रिपोर्ट सार्वजनिक नभएपछि स्थानीय तहदेखि नागरिक समाजसम्ममा ‘रिपोर्ट लुकाइएको’ आरोप चुलिएको छ। केही समयअघिसम्म महानगरले पानीबाट हैजा नभएको भनिरहँदा अहिले तरकारीबाट भएको भनी अन्योलपूर्ण अभिव्यक्ति दिइरहेका छन्।
तर यथार्थमा संक्रमणको स्रोत खुल्न नसक्दा संक्रमण नियन्त्रणमा समस्या भइरहेको छ। त्रास, अफवाह र अनिश्चितताबीच महामारीको वास्तविक अवस्था अझै अनुत्तरित रहँदै आएको छ।

















