Logo

१८ भदौ, काठमाडौं । चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपालले समर्थन गरेको भन्ने चिनियाँ दाबीबारे विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसदमा जवाफ मागेका छन् ।

प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि यस विषयमा संसदमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले नेपाल अहिलेसम्म कुनै पनि शक्ति राष्ट्रको सैन्य रणनीति जस्तै अमेरिकाको इन्डो प्यासिफिक रणनीति र एसपीपी, तथा चीनको जीएसआई) बाट अलग रहँदै आएको बताए । उनले नेपालको संविधानले नै असंलग्न परराष्ट्र नीतिलाई प्राथमिकता दिएको हुँदा नेपाल कुनै पनि सैन्य गठबन्धनको पक्षमा उभिन नसक्नेमा जोड दिए ।

ज्वालाले प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटपछि चिनियाँ विदेश मन्त्रालयले जीएसआईमा नेपालले समर्थन गरेको दाबी गरेको भन्दै त्यसको सत्यता के हो भनी प्रश्न गरे। यदि यो दाबी सत्य हो भने यसले नेपाललाई शक्ति राष्ट्रहरूको सुरक्षा पासोमा पार्न सक्ने भन्दै यस विषयमा सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ।

यसैगरी, नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पनि प्रधानमन्त्रीले विदेश भ्रमणबारे संसदमा आएर आधिकारिक जवाफ दिनुपर्ने बताए। उनले नेपालको भूमि लिपुलेकलाई भारत र चीनले व्यापारिक मार्ग बनाउने सहमति गरेको विषयमा पनि सरकारले स्पष्ट धारणा राखेर आवश्यकता परे अन्तर्राष्ट्रिय अदालत जानुपर्ने सुझाव दिए।


सम्बन्धित समाचार
भर्खरै