१८ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्सा जिल्ला कमिटीको आयोजनामा भूमि विधेयकको विरोधमा आज वीरगञ्जमा बृहत प्रदर्शन गरिएको छ।
पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा गरिएको विरोध र्यालीमा नेता शशी कपुर मियाँ, सिंहासन साह कलवार, करिमा बेगमसहित दर्जनौं जिल्ला स्तरीय नेताहरू तथा सयौं कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
प्रदर्शनमा सहभागीहरूले भूमि सम्बन्धी विधेयकलाई राष्ट्रघाती भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले ‘राष्ट्रघाती भूमि विधेयक खारेज गर’, ‘सरकार मुर्दावाद’, ‘सुकुम्बासीमाथि अन्याय बन्द गर’ जस्ता नारा लगाउँदै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए।
जसपा नेपालले भूमि विधेयक मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीहरूलाई थप समस्यामा पार्ने र मधेशको राजनीतिक मुद्दाहरूलाई बेवास्ता गर्ने खालको रहेको आरोप लगाएको छ।
प्रदर्शनकर्ताहरूले सरकारलाई तत्काल विधेयक फिर्ता लिन चेतावनी दिँदै अन्यथा थप संघर्षको बाटो रोज्ने चेतावनी दिएका छन्।















