१८ भदौ,वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्जमा हैजाका बिरामीको संख्या क्रमशः घट्दै गए पनि छिमेकी जिल्ला बारामा भने नयाँ संक्रमित भेटिन थालेका छन्।
बाराको महागढीमाई नगरपालिका–८ का दुई बालबालिकामा हैजाको संक्रमण पुष्टि भएपछि बारामा पनि सतर्कता बढाइएको छ। झाडापखालाको लक्षण देखिएपछि भदौ १६ गते कलैयास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएका ८ वर्षीय बालक र ८ वर्षीया बालिकाको आरडिटी परीक्षणबाट हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिए।
विशेष कुरा के छ भने ती बालबालिकाको वीरगञ्जसँग कुनै ट्राभल हिस्ट्री छैन। यसअघि बारा जिल्लाका संक्रमितमध्ये सबै वीरगन्जसँग जोडिएका थिए, तर यो पहिलो पटक संक्रमण स्थानीय स्तरमै देखिएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
यादवका अनुसार, हाल बारा जिल्लाबाट हैजाका ८ जना संक्रमित पुष्टि भइसकेका छन्। तीमध्ये तीन जना डिस्चार्ज भइसकेका छन् भने पाँच जना अस्पतालमा उपचाररत छन्।
वीरगञ्जमा भने सुधारको संकेत
यता वीरगञ्जसहित पर्सा जिल्लामा भने हैजा र झाडापखालाका बिरामीको संख्या घट्दै गएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।भदौ १६ गते बुधबार ३१ जना नयाँ झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएका थिए, तीमध्ये एक जनामा मात्रै हैजा पुष्टि भएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
भदौ १५ गते मंगलबार ३७ जनामा झाडापखाला देखिएको थियो, जसमा ४ जनामा हैजा पुष्टि भएको थियो। त्यसअघि भदौ १४ गते सोमबार ४६ जना नयाँ बिरामीमध्ये ८ जनामा हैजा देखिएको थियो।
स्वास्थ्य कार्यालय पर्साका अनुसार, भदौ ६ गतेदेखि भदौ १८ गते बिहान १० बजेसम्म वीरगन्ज र पोखरिया क्षेत्रका गरी १९४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। तीमध्ये १८२ जना निको भइ घर फर्किसकेका छन् भने १२ जना अस्पतालमा उपचाररत छन्।
हाल भवानी हस्पिटल र प्रभु हस्पिटलमा तीन–तीन जना, नारायणी अस्पताल, नेशनल मेडिकल कलेज र एडभान्स हस्पिटलमा दुई–दुई जना हैजाका बिरामी उपचाररत छन्।
कुल संक्रमित ९६५ जना
पर्सा जिल्लामा झाडापखालाबाट संक्रमित हुनेको कुल संख्या ९६५ पुगेको छ। तीमध्ये ८६५ जना उपचारपछि घर फर्किसकेका छन् भने हाल १०० जना बिरामी उपचाररत छन्।
यस समयावधिमा १६ जना बिरामी गम्भीर अवस्थामा रहेकाले आइसियुमा राखिएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।
सतर्कता अपनाउन स्वास्थ्य अधिकारीको आग्रह
स्वास्थ्य कार्यालयले हैजाको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न र सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ। वीरगञ्जमा संक्रमण घट्दै गइरहेको अवस्थामा बारामा संक्रमण देखिनु थप चुनौतीपूर्ण भएको भन्दै स्वास्थ्य निकायले निगरानी र परीक्षणमा तीव्रता बढाएको जनाएको छ।

















