Logo

१८ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा फैलिएको झाडापखाला र हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा आएको छ। सङ्क्रमण घटेसँगै विगत दुई सातादेखि बन्द रहेका यहाँका शैक्षिक संस्थाहरू आज (बुधबार) देखि पुनः सञ्चालनमा आएका छन्।

पछिल्ला दिनहरूको तथ्याङ्कअनुसार अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा उल्लेख्य कमी आएको छ भने उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किनेहरूको सङ्ख्या बढेको छ। वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४ घण्टामा केवल २ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने झाडापखालाका कारण १२ जना विभिन्न अस्पतालमा भर्ना भएका छन्। यो सङ्ख्या आइतबार क्रमशः १५ र ८८ रहेको थियो, जसले सङ्क्रमण तीव्र गतिमा नियन्त्रण भइरहेको सङ्केत गर्छ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार गत १२ दिनमा सङ्क्रमणको दर ६० प्रतिशतले घटेको छ। हाल नारायणी अस्पतालमा १६ जना बिरामी उपचाररत छन्, जसमध्ये २ जना मात्र आइसियुमा छन्। डा. सिंहले भन्नुभयो, “अबको केही दिनमा हैजा सङ्क्रमण शून्य हुने अपेक्षा छ। रोकथामका लागि जनचेतना र सावधानी अपनाउनु सबैभन्दा प्रभावकारी उपाय हो।”

बुधवारसम्म विभिन्न अस्पतालबाट ८६४ जना बिरामी स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। स्वास्थ्य शाखाका प्रमुख राजु साहका अनुसार हालसम्म १८२ जनामा हैजा पुष्टि भएकोमा १७५ जना निको भइसकेका छन् भने ६ जनाको उपचार चलिरहेको छ।

सङ्क्रमण नियन्त्रणका लागि महानगरले सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्यकर्मी परिचालन, जनचेतना अभियान, खानेपानीको क्लोरिनेसन र ट्याङ्की सरसफाइलाई तीव्रता दिएको छ। साथै, पानीपुरी, चाटजस्ता सडकमा बेचिने खाद्यवस्तुमा प्रतिबन्ध लगाइएको छ।

चिकित्सकहरूले सङ्क्रमण नियन्त्रणमा आए पनि व्यक्तिगत सरसफाइ, उमालेको पानीको प्रयोग र हात धुने बानीलाई निरन्तरता दिन आग्रह गरेका छन्। स्वास्थ्य विशेषज्ञहरूले दीर्घकालीन समाधानका लागि सरसफाइ र पूर्वाधार सुधारमा जोड दिएका छन्।


सम्बन्धित समाचार
भर्खरै