१९ भदौ, काठमाडौं । वल्ड युथ फर क्लाइमेट जस्टिसका युवा प्रतिनिधिहरूले जलवायु न्यायको पक्षमा नेपालले खेलेको महत्त्वपूर्ण भूमिकाका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् ।
उनीहरूले अन्तर्राष्ट्रिय न्यायालय ‘इन्टरनेशनल कोर्ट अफ जस्टिस’ (ICJ) मा नेपालले दिएको सकारात्मक रायका कारण जलवायु मुद्दामा अन्तर्राष्ट्रिय अदालतले सकारात्मक निर्णय दिन सफल भएको भन्दै प्रचण्डको नेतृत्वको प्रशंसा गरेका हुन् ।
नेपालको लिखित राय र प्रचण्डको निर्देशन
सन् २०२४ को मार्चमा नेपालले ICJ मा जलवायु न्यायसम्बन्धी मुद्दामा लिखित राय प्रस्तुत गरेको थियो। यो राय तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष निर्देशनमा तयार पारिएको थियो। नेपालले जलवायु परिवर्तनको संवेदनशीलता, कम विकसित राष्ट्रहरूमा परेको प्रभाव र यसलाई समाधान गर्न विकसित राष्ट्रहरूको दायित्वबारे स्पष्ट र वैज्ञानिक तर्कहरू प्रस्तुत गरेको थियो।
प्रचण्डले नेपालको लिखित दृष्टिकोणमा जलवायु न्यायका लागि आवश्यक प्रविधि र वित्तीय सहयोगको महत्त्वमा जोड दिँदै स्पष्ट अभिव्यक्ति दिन निर्देशन दिएका थिए। उनले नेपालले न्यून कार्बन उत्सर्जन गरे तापनि जलवायु संकटको चरम प्रभाव भोगिरहेको कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा उठाएका थिए।
ऐतिहासिक उपलब्धि र भविष्यको बाटो
अन्तर्राष्ट्रिय अदालतबाट आएको परामर्शात्मक रायलाई प्रचण्डले एक ऐतिहासिक उपलब्धि मानेका छन्। उनले सरकारले यसलाई स्वागत गर्दै सोही रायअनुसार आवश्यक नीतिगत र कानुनी सुधारहरू गर्नुपर्ने बताएका छन्।
भेटमा प्रचण्डले भने, “हामी त्यतिबेला एलडीसी (Least Developed Countries) राष्ट्रहरूको नेतृत्व गरिरहेका थियौँ। मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको विषयलाई जोड दिएर उठाएको थिएँ।” उनले यो कुनै देशको दया वा भीख नभई विकसित राष्ट्रहरूको प्रतिबद्धताअनुसार आफ्नो अधिकारको खोजी भएको स्पष्ट पारे।
प्रचण्डले जलवायु संकटको विषयलाई राजनीतिक पूर्वाग्रहको चस्माबाट हेर्नु दुर्भाग्यपूर्ण भएको पनि बताएका छन्। यो राष्ट्रिय र विश्वव्यापी सुरक्षासँग जोडिएको महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ।















