Logo

१९ भदौ, काठमाडौं । भारतमा आउजाउ गर्ने नेपालीहरूका लागि अब पुरानो सहजता रहने छैन ।

भारत सरकारले सेप्टेम्बर १, २०२५ देखि लागू गरेको नयाँ आप्रवासन कानुनले नेपाली नागरिकहरूमाथि समेत निगरानी बढाउने भएको छ। यो नयाँ व्यवस्थाअनुसार, भारत जाने नेपालीहरूले अब आफ्नो व्यक्तिगत विवरणसहितको ‘फारम सी’ भर्नुपर्नेछ।

के हो नयाँ व्यवस्था?

पहिले खासै कागजी झन्झटविना भारतमा घुमफिर र काम गर्न पाइने नेपालीहरूका लागि अब नयाँ नियमहरू लागू भएका छन् । नयाँ कानुनअनुसार, नेपालीहरूले अब व्यक्तिगत विवरणसहितको ‘फारम सी’ अनिवार्य रूपमा भर्नुपर्नेछ। विवरण अनिवार्य गरिएको छ । होटल, अस्पताल, नर्सिङ होम, शैक्षिक संस्था र अन्य निकायहरूले आफ्ना नेपाली पाहुना वा विद्यार्थीको विवरण अनिवार्य रूपमा राख्नुपर्नेछ। यी विवरणहरू कम्तीमा एक वर्षसम्म इलेक्ट्रोनिक रूपमा सुरक्षित राखिनेछ, जसले व्यक्तिहरूको गतिविधिमाथि निगरानी राख्न सहयोग पुग्नेछ। भारत सरकारले यो कदम अवैध प्रवेश रोक्न र राष्ट्रिय सुरक्षालाई सुदृढ गर्नका लागि चालेको बताएको छ।

किन ल्याइयो यस्तो कानुन?

भारतले आफ्नो सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन यो कदम चालेको हो । विशेषगरी, नेपालसँगको खुला सिमानाको फाइदा उठाउँदै समाजविरोधी तत्वहरू, अवैध आप्रवासी र गुप्तचरहरूले भारतमा प्रवेश गर्न सक्ने खतरालाई मध्यनजर गर्दै यो नियम लागू गरिएको अधिकारीहरूले बताएका छन् ।

उल्लंघन गरे के हुन्छ?

नयाँ कानुनअनुसार, यदि कसैले व्यक्तिहरूको विवरण नबुझाएमा तीन वर्षसम्म जेल सजाय वा तीन लाख रुपैयाँ जरिवाना वा दुवै हुनसक्ने व्यवस्था गरिएको छ । यो नियमको बारेमा व्यापक रूपमा प्रचारप्रसार पनि सुरु गरिएको छ । यद्यपि, भारतीय सुरक्षा बलमा सेवा गरेका र भारतमै बसोबास गरिरहेका नेपाली पूर्वसैनिकहरूलाई यस नियमले कसरी सम्बोधन गर्छ भन्नेबारे भने अझै स्पष्ट पारिएको छैन । हाललाई यो नियम घुमफिर, उपचार वा अध्ययनका लागि भारत जाने नेपालीमाथि मात्र केन्द्रित रहेको बताइएको छ ।

यो नयाँ कानुनले नेपाल र भारतबीचको परम्परागत खुला सिमानाको सम्बन्धलाई कति असर गर्छ, त्यो भने आगामी दिनमा देखिनेछ ।


सम्बन्धित समाचार
भर्खरै