१९ भदौ,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी, रेशमकोठी उपशाखाले आफ्नो ६३औं स्थापना दिवस विशेष समारोहका साथ मनाएको छ। कार्यक्रममा रेडक्रसका संस्थापक जा. हेनरी ड्युनाको तस्वीरमा माला र टीका अर्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रम उपशाखाकी उप–सभापति सरिता यादवको अध्यक्षतामा र वीरगञ्ज शाखाका अध्यक्ष बृज किशोर पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा उपशाखाका सचिव लाल बाबू सिंह, स–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, श्रवणबहादुर रायमाझी, सुरेन्द्र प्रसाद कानु, राम सुदिशलाल कर्ण, ध्रुव सिंह ठकुरी, श्रीनारायण यादव, भागवत प्रसाद चौधरीलगायतको उपस्थिति रहेको थियो।
“मानवताको पक्षमा” भन्ने मूल नारासहित मनाइयो दिवस
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को स्थापना २०२० साल भदौ १९ गते भएको हो। विश्व रेडक्रस अभियानको अभिन्न अङ्गका रूपमा रहँदै आएको यस संस्थाले यस वर्षको स्थापना दिवसलाई “मानवताको पक्षमा” भन्ने मूल नारासहित मनाएको हो।
रेडक्रस हाल देशभर ११ लाखभन्दा बढी स्वयंसेवकहरूको सक्रियतामा मानवीय सेवामा समर्पित छ। संगठनमा ७ प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयोग समिति, र ६,५८७ जुनियर तथा युवा सर्कलहरू क्रियाशील छन्।
“म सेवा गर्छु“ भन्ने मूल मन्त्रसहित विविध कार्यक्रम सञ्चालन
नेपाल रेडक्रसले संगठन विकास, युवा तथा जुनियर विकास, विपद् व्यवस्थापन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवा, लैङ्गिक समावेशीकरण लगायतका महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
गत वर्ष मात्रै बाढी, पहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४,९०६ परिवारलाई राहत सामग्री, र ५,०३३ परिवारलाई १२ करोड २४ लाख रुपैयाँभन्दा बढी नगद सहायता उपलब्ध गराइएको थियो। साथै, आपतकालीन अवस्थामा तत्काल राहत पुगोस् भन्ने उद्देश्यले रेडक्रसले १ केन्द्रीय, ६ प्रदेशस्तरीय, ५ उपक्षेत्रीय, र जिल्ला शाखास्तरीय गोदामहरूमार्फत सामग्री भण्डारणको व्यवस्था मिलाएको छ।
स्थापना दिवसको अवसरमा सहभागी वक्ताहरूले रेडक्रसको योगदानको प्रशंसा गर्दै, संस्थाले भविष्यमा अझ प्रभावकारी मानवीय सेवा कार्य गर्दै जाने विश्वास व्यक्त गरेका थिए।















