१९ भदौ, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–५, नकटुवास्थित श्री ५ महेन्द्र आधारभूत विद्यालय पछिल्लो समय खानेपानीको चरम संकटबाट गुज्रिरहेको छ। विद्यालयमा अध्ययनरत करिब २०० जना विद्यार्थी पिउने पानीको अभावमा विद्यालयभन्दा ६० मिटर टाढा खेतमा सिचाइको लागी गाडीएको चापाकलको पानी पिउन बाध्य छन्।
प्यास मेटाउन पढाइ छोड्दै खेततर्फ
विद्यालयका प्रधानाध्यापक गौरी नारायण यादवका अनुसार, “विद्यार्थीहरूले पढाइकै बीचमा प्यास मेटाउनका लागि खेतको चापाकलमा जानुपरेको छ, जसले शिक्षण प्रक्रियामा प्रत्यक्ष असर परेको छ।”
उनले खानेपानी अभावको समस्या विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे।
स्थानीय तह र व्यवस्थापन समितिको मौनता
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबि मियाँले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपनि त्यो अहिलेसम्म व्यवहारमा आउन नसकेको विद्यालय स्रोतले जनाएको छ।
गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटोले पनि छिट्टै समाधान गरिने आश्वासन दिएका थिए तर अहिलेसम्म कुनै ठोस पहल नभएको जनाइएको छ।यसैबीच वडा अध्यक्ष अमिरीप्रसाद गुप्ता भने यस विषयमा मौन रहेको स्थानीयको आरोप छ।
पानी मात्र होइन, भवन पनि जर्जर
खानेपानीको समस्या मात्र होइन, विद्यालयको भवन अवस्था पनि अत्यन्तै जर्जर रहेको छ। भौतिक पूर्वाधारको अभावका कारण सिकाइ वातावरणमा गम्भीर चुनौती उत्पन्न भएको प्रधानाध्यापक यादवले बताए।केही महिनाअघि प्रदेशसभा सदस्य जितेन्द्र सोनलले विद्यालयको अवलोकन गर्दै आगामी वर्षको बजेटमा विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म त्यसको कुनै प्रगति नभएको जनाइएको छ।
विद्यार्थी, अभिभावक र स्थानीय युवाहरूले खानेपानी र संरचनाको स्थायी समाधानका लागि सम्बन्धित निकायलाई तत्काल ध्यान दिन माग गरेका छन्।
शिक्षा क्षेत्रको सुधारका लागि आधारभूत सुविधाको सुनिश्चितता अपरिहार्य रहेको उनीहरूको भनाइ छ।















