१९ भदौ, काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुरु भएको छ।
प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेका मुख्य अभियुक्तमध्ये एक कुम्भराज गुरुङको बयान सकिएपछि ललितपुर जिल्ला अदालतकी न्यायाधीश निर्मला योङयाको इजलासमा बहस सुरु भएको हो । यसअघि, यसै मुद्दामा पक्राउ परेका तीन अभियुक्तमध्ये दुई जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो भने एक जना धरौटीमा रिहा भएका थिए । अदालतको आदेशअनुसार सुरेश अधिकारी ७ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। यता, ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई भने थुनामा राख्न आदेश दिइएको थियो ।
कसरी भयो ठगी?
मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा कुल आठ जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले हालसम्म तीन जनालाई मात्र पक्राउ गर्न सफल भएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहित चार जना अझै फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले ठगीको जालो बाहिर ल्याएको छ । प्रहरीले ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीसँग १७ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ । यसैगरी, भण्डारीसँग जोडिएका सुरेश अधिकारी र सुवास खत्रीसँग हुन्डीसम्बन्धी कसुरमा थप १३ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
थाइल्यान्ड र कम्बोडियामा बस्दै आएका ज्योतिबहादुर भण्डारीले सहकारीको मात्र नभई व्यक्तिगत रूपमा सहकारीका पदाधिकारीहरूलाई समेत ठगेको पाइएको छ। सीआईबीको अनुसन्धानले उनले मितेरी सहकारीको १४ करोड र पदाधिकारीहरूबाट थप रकम गरी कुल २२ करोड रुपैयाँ ठगी गरेको देखाएको छ। अदालतले आजको थुनछेक बहसपछि गुरुङलाई थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने निर्णय गर्नेछ, जसले यस मुद्दाको भविष्यको दिशा तय गर्नेछ।















