१९ भदौ,काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सहकारी सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताएका छन्।
नेपाल सहकारी पत्रकार समाजद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारीको नाममा देखिएका बेतिथिहरू नियन्त्रण गर्न ऐन र कानुनको कडाइका साथ पालना आवश्यक भएको बताए।
“हामीले सहकारी क्षेत्रमा छोटो समयमै धेरै कानुन बनाउन सफल भएका छौं। अब त्यसलाई प्रभावमा ल्याउनु जरुरी छ,” मन्त्री अधिकारीले भने।
उनका अनुसार, सहकारी सुधारका लागि नियम, कार्यविधिहरू तयार गर्दा विज्ञ, कानूनविद् लगायत सरोकारवालालाई समेटेर समावेशी र व्यवहारिक नियमावली बनाइनेछ।
मन्त्री अधिकारीले सहकारी क्षेत्रका वर्तमान अनियमितता नियमन गर्न बाध्यात्मक कानुनी प्रावधानहरू ल्याइएको उल्लेख गर्दै भने, “सहज र मर्यादित सहकारीहरूले सहजता महसुस गर्नेछन्। नियमनलाई क्रमशः खुला गरिन्छ।”
उनका अनुसार सरकार सहकारीलाई जनताको विश्वास र पूँजी संकलन गर्ने भरपर्दो माध्यम बनाउनेतर्फ प्रतिबद्ध छ।















