१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको पुष्टि गरेका छन् । यो पदका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले उम्मेदवारी नदिने भएकाले खतिवडा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।
पहिले राजीनामा, अब नयाँ जिम्मेवारी
खतिवडाको यो नयाँ जिम्मेवारी उनको पुरानो पदसँग जोडिएको छ । यसअघि उनी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । तर, ‘कूलिङ अफ पिरियड’ सम्बन्धी प्रतिवेदनमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामापछि सो रिक्त पदमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भएकी थिइन्, जसले सुनुवाइ समितिको सभापति पद छाडेर राज्य व्यवस्था समितिको नेतृत्व सम्हालेकी थिइन् ।
अब भने, राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिएका खतिवडा सुनुवाइ समितिको सभापति बन्ने भएका छन् । यसले एउटा पदबाट राजीनामा दिएका नेतालाई अर्को महत्वपूर्ण पदमा पुनर्स्थापित गर्ने ‘राजनीतिक चक्र’ देखाएको छ । सदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भोलि हुनेछ । आज दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ। समिति सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार, निर्वाचन भोलि साँझ ५ बजे हुनेछ ।















