प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१९ भदौ, काठमाडौं । नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने निर्णय भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सम्पन्न उक्त बैठकले अब सूचीकरण प्रक्रिया पूरा नगरेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले बताएको छ।

केही दिनअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि सामाजिक सञ्जाल निष्क्रिय हुने संकेत दिएका थिए । सरकारले तोकेको सात दिनको म्यादभित्र कुनै पनि ठूला सामाजिक सञ्जाल, जस्तै मेटा (फेसबुक), एक्स (ट्विटर), र गुगल, दर्ताका लागि मन्त्रालयको सम्पर्कमा आएका थिएनन् ।

यो निर्णयसँगै नेपालमा सामाजिक सञ्जालको भविष्यलाई लिएर ठूलो अनिश्चितता छाएको छ । सरकारले आफ्ना नियमहरू पालना गराउन यो कठोर कदम चालेको हो भने यसले अभिव्यक्ति स्वतन्त्रता र डिजिटल पहुँचमाथि कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठेको छ ।

अब नेपालमा सूचीकृत भएका पाँच सञ्जाल, जुन निरन्तर चल्नेछन् । जुन टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ हो । सञ्चार मन्त्रालयमा सूचीकृत नभएका धेरै सञ्जाल बन्द हुनेछन् । फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर, लिंक इड, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल जस्ता सामाजिक सञ्जाल बन्द हुनेछन् ।


सम्बन्धित समाचार