१९ भदौ, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई फोन गरेर ज्यान मार्ने धम्की दिने बाराकी किरण साहप्रति कुनै पूर्वाग्रह नराखेको बताएका छन्। हाल प्रहरी हिरासतमा रहेकी साहमाथि नरम व्यवहार गर्न पनि आग्रह गर्दै, मन्त्रीले उक्त घटनालाई व्यक्तिगत आक्रोशको रूपमा लिएको स्पष्ट पारेका छन्।
एक फेसबुक स्टाटसमार्फत मन्त्री यादवले लेखेका छन्, “समस्या प्रश्न गर्नुमा कदापि होइन, तर हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो। फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला।” उनले प्रहरीलाई फोनकर्तासँग नरम व्यवहार गर्न आग्रह गरिएको जानकारीसमेत सार्वजनिक गर्दै भनेका छन्, “फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ।”
वीरगञ्जमा हैजा फैलिएको बेला किरण साहले मन्त्री यादवलाई फोन गरी तीव्र आक्रोश पोख्दै ज्यान मार्ने धम्की दिएकी थिइन्। सो धम्कीसम्बन्धी अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मन्त्री यादवको सूचनाका आधारमा पर्सा प्रहरीले गत शनिबार साहलाई पक्राउ गरेको थियो।
मन्त्री यादवले किरण साह अरू कसैको उक्साहटमा परेकी हुनसक्ने आशंका पनि व्यक्त गरेका छन्। “ती फोनकर्तालाई उक्साउने वा मेन्टरिङ गर्नेको मनसाय के थियो, त्यसको छानबिन प्रहरीले गर्छ नै,” उनले भनेका छन्।
“लोकतन्त्रमा जनताले गुनासो पोख्ने छुट हुन्छ, तर कुनै पनि निहुँमा अराजकता फैलाउने अनुमति दिन सकिँदैन,” मन्त्री यादवले प्रस्ट पारेका छन्। उनले कानूनभन्दा माथि कोही नरहेको उल्लेख गर्दै, अदालतको निष्पक्षता र विधिप्रति विश्वास राख्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
मन्त्री यादवले किरण साहको अनुसन्धान प्रक्रिया सकिएको जानकारी पाएको र अब अदालतबाट न्यायिक तथा सन्तुलित फैसला आउने आशा व्यक्त गरेका छन्।
हेर्नुहोस् मन्त्री यादवको फेसबुक स्टाटस–
वीरगञ्ज मेरो जन्मथलो त हुँदै हो, यसका साथै राजनीतिक संघर्ष तथा स्वीकृतिको भूमि हो । पछिल्ला दिनहरूमा यहाँ पहिला खानेपानीको संकट देखा प¥यो । यसको तत्कालीक र दीर्घकालीक समाधानका लागि म संघीय खानेपानी मन्त्रीका रूपमा स्थानीय वीरगञ्ज महानगरपालिकासँग सामन्जस्य स्थापित गरी युद्धस्तरमा सक्रिय भएँ । खानेपानी समस्या मधेश प्रदेशमा सघन देखिएको हुनाले प्रदेश सरकारसँग समेत समन्वय गर्न साथै यसको दीर्घकालीन समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग सल्लाह र सहयोग लिएँ ।
खानेपानीको संकट न्यूनीकरणको प्रक्रिया अगाडि बढ्दै थियो कि वीरगञ्जमा झाडा पखाला र हैजाका विरामीहरू देखिन थाले । म स्वयं जनताबीच पटक–पटक गई तिनका समस्या सुन्ने, असन्तुष्टि बुझ्ने र आम नागरिकका अप्ठ्याराहरूलाई व्यवस्थापन गर्न दिन–रात लागि परें । यसका लागि सम्माननीय प्रधानमन्त्रीसमक्ष भुइँ तहको सूचना साझेदारी, सम्बन्धित संघीय स्वास्थ्य मन्त्री तथा मन्त्रालयसँग समन्वय, तथा स्थानीय सरोकारवाला पक्षबीच समन्वयका काम गर्दै रहें ।
जनताका बीच संघर्ष गर्ने व्यक्ति भएको हुनाले जनताको पीरमर्का बुझ्ने, गुनासाहरूको व्यवस्थापन गर्नु म आफ्नो धर्म ठान्दछु । जनताले सरकारसँग प्रश्न गर्न पाउन् भन्ने मेरो राजनीतिक संघर्षको ध्येय रहीआएको छ ।
मेरो मोबाइल नम्बरमा आएको फोन कललाई सकेसम्म म उठाउने गर्दछु । सेभ नरहेका नम्बरबाट आएको कल समेत उठाउने मेरो बानी छ । कुनै प्राविधिक तथा अफिसियल कारणबस फोन उठाउन नसकेको अवस्थामा पछि कलब्याक समेत गर्ने गरेको छु ।
गत साता मेरो नम्बरमा एक अज्ञात महिलाको फोन आयो, जसमा उनी निकै आक्रोशित रूपमा प्रस्तुत भइन् । मलाई लाग्यो उनकै कथनानुसार कोही आफन्त विरामी भएको भएर पीडा पोखिएको होला । तर उनले गुहार लगाउनुभन्दा ज्यान मार्ने धम्कीसमेत दिएको हुनाले मैले त्यो नम्बर सहितको सूचना पर्सा प्रहरीलाई दिए ।
यसका साथै वीरगञ्जका नगर प्रमुख राजेशमान सिंह जी र पर्सा जनस्वास्थ्य कार्यालयका प्रमुखलाई नोट गराए । र यो पनि आग्रह गरें, यदि ती फोनकर्ताको कोही आफन्त गम्भीर विरामी छ भने त्यसमा सक्दो सहयोग पु¥याउने ।
पछि अस्पतालमा पता लगाउँदै जाँदा थाहा पाइयो वीरगञ्जको कुनै अस्पतालमा उनको परिवारका कोही सदस्य भर्ती थिएन ।
यसैबीच ती महिलाले मलाई दिइएको हत्यावाला अडियो आफैं इडिट गराई सार्वजनिक गराइन् र गरिन् । र फेरि संयोगले असली अडियो पनि बाहिर आएर आफैं सत्यतथ्य छर्लङ्ग भयो ।
पर्सा प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाउँदा ती फोनकर्ता हिरासतमा राखिएकी हुन् । मेरो व्यक्तिगत रूप उनीप्रति कुनै पूर्वाग्रह छैन ।
एक जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य रूपमा लिए पनि अनाहक अफवाह फैलाउने, मार्ने धम्की दिने कार्य उक्त फोनकर्ताबाट भएको हुनाले मेरा हितैषीहरू चिन्तित र चासो लिनु स्वाभाविक हो । ती फोनकर्तालाई उक्साउने वा मेन्टरिङग गर्नेको मनसाय के थियो त्यसको छानविन प्रहरीले गर्छ नै ।
कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेदारी हो । फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ । फोनकर्ता महिलाप्रति नरम भइदिनको लागि सचिवालय मार्फत प्रहरी समक्ष खबर पुर्याएको छु ।
समस्या प्रश्न गर्नुमा कदापि होइन । हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला ।
कानुनभन्दा माथि कोही हुन सक्दैन र हुँदैन । हामीले विधि र अदालतको निष्पक्षतामाथि विश्वास गर्नुपर्छ । उहाँको अनुसन्धान प्रक्रिया सकेको खबर छ आशा छ फैसला राम्रो आउने छ ।
म फेरि भन्छु– लोकतन्त्रमा जनताले गुनासो पोख्ने छुट छ तर कुनै पनि निहुँमा अराजकता फैलाउने अनुमति दिन सकिँदैन ।















