Logo

१९ भदौ,वीरगञ्ज । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवसँग फोनमार्फत चर्को शैलीमा प्रश्न गरेकी वीरगञ्जवासी किरण साहविरुद्धको मुद्दामा अदालतमा बहस सकिएको छ। अब जिल्ला अदालत पर्साले आजै साहलाई सामान्य धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्नेछ।

पर्सा प्रहरीका अनुसार, गत शनिबार पक्राउ परेकी साहविरुद्धको अनुसन्धान पूरा गरी बुधबार सरकारी वकिल कार्यालयमा फाइल बुझाइएको थियो। त्यसपछि बिहीबार जिल्ला अदालत पर्सामा मुद्दाको बहस सम्पन्न भएको हो।

तीनवटा मुद्दा, सामाजिक बहस पनि चर्कियो

किरण साहविरुद्ध प्रहरीको अनुसन्धानमा तीनवटा अभियोग लगाइएको थियो—मन्त्रीलाई ज्यान मार्ने धम्की, झुटा अफवाह फैलाएको, र विद्युतिय कारोबारसम्बन्धी अपराध। यद्यपि, यस विषयले सामाजिक तहमा गम्भीर बहस समेत उत्पन्न गराएको छ। साहले चर्को स्वरमा मन्त्रीसँग जनस्वास्थ्यसम्बन्धी प्रश्न गर्दा उनीमाथि राजनीतिक पहुँच प्रयोग गरेर दमन गरिएको भन्दै आम नागरिक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आक्रोशित छन्।

वीरगञ्जमा हैजा फैलिएका कारण हाल मुर्लीमा बसोबास गर्दै आएकी बारा, कलैयाकी किरण साहले मन्त्री यादवलाई फोन गरेर हैजा नियन्त्रणमा कमजोरी भएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्। संवादमा उनले केही तीव्र र धम्कीपूर्ण भाषा प्रयोग गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मन्त्रीको सचिवालयको उजुरीका आधारमा साहलाई प्रहरीले पक्राउ गरेको थियो।

मन्त्री यादवको स्पष्टीकरण

यस घटनापछि मन्त्री प्रदीप यादवले फेसबुकमार्फत लामो स्टाटस लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले किरण साहप्रति कुनै व्यक्तिगत पूर्वाग्रह नरहेको, प्रहरी समक्ष सचिवालयमार्फत नरम व्यवहारका लागि आग्रह गरिएको उल्लेख गरेका छन्। मन्त्री यादवले जनताको गुनासो सुन्नु लोकतान्त्रिक अभ्यास भए पनि हिंसात्मक वा अराजक शैलीलाई जायज ठान्न नसकिने बताएका छन्।

अब अदालतको आदेशपछि किरण साहको भविष्य निर्धारण हुनेछ—उनी सामान्य धरौटीमा छुट्नेछिन् वा पुर्पक्षका लागि थुनामा रहनेछिन्। सामाजिक रुपमा भने यो घटना जनप्रतिनिधि र नागरिकबीचको संवेदनशील सम्बन्ध, अभिव्यक्तिको स्वतन्त्रता र कानुनी कार्यान्वयनको सीमाबारे गम्भीर बहसको विषय बनेको छ।


सम्बन्धित समाचार
भर्खरै