१९ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारी निर्णयले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको जस्तो देखिएको बताएका छन्।
बिहीबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले भने, “सामाजिक सञ्जालको बारेमा सरकारले निर्णय गरेको छ। नियमन त गर्नुपर्छ, तर सरकारका सम्पूर्ण निर्णय, अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागेको छ।”
उनले गणतन्त्रमा प्राप्त भएको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको बताउँदै नियमनको बहानामा यो अधिकार खोसिने हो कि भन्ने चिन्ता व्यक्त गरे। सापकोटाले यस विषयमा गम्भीरतापूर्वक अध्ययन गरी पार्टीको धारणा सार्वजनिक गर्ने पनि जानकारी दिए।
सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने तयारी गरिरहेको बेला माओवादी केन्द्रको यो भनाइ आएको हो। सरकारको यस कदमको राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य दल र सरोकारवालाहरूले पनि विरोध गरिरहेका छन्।















