१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यही भदौ ३० गते (सेप्टेम्बर १५) देखि हुने भनिएको भारत भ्रमण अनिश्चित भएको समाचार सार्वजनिक भएको छ। भारतको द प्रिन्ट अनलाइनले आफ्ना स्रोतलाई उद्धृत गर्दै ओलीको भ्रमण तत्कालका लागि टर्ने सम्भावना रहेको उल्लेख गरेको हो।
स्रोतका अनुसार, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे अहिलेसम्म आधिकारिक तयारी सुरु नभएकाले भ्रमण स्थगन हुन सक्ने आँकलन गरिएको छ। यद्यपि, नेपाली पक्षबाट यसबारे औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
चीनमा भएको ओली–मोदी भेटपछिको परिदृश्य
गत साता चिनियाँ सहर थियान्चिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (क्ऋइ) को सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो। उक्त भेटमा कुनै विशेष सहमति या गहिरो छलफल नभएको बताइएको छ।
लिपुलेक प्रकरणले भारत–नेपाल सम्बन्धमा चिसोपना?
पछिल्लो समय भारत र चीनबीच लिपुलेक मार्ग प्रयोगबारे एकपक्षीय सहमति भएकोप्रति नेपालमा तीव्र आलोचना भएको छ। नेपालको दाबी अनुसार लिपुलेक क्षेत्र नेपालको भूभागमा पर्छ, तर भारतले नेपालको दाबीलाई अस्वीकार गर्दै आएको छ।
यसै विषयलाई लिएर प्रधानमन्त्री ओलीले केही दिनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष चिन्ता व्यक्त गरेका थिए। नेपालमा सरकार र सर्वसाधारणले भारतको भूमिकाको आलोचना गरिरहँदा भारत सरकार नेपालप्रति असन्तुष्ट भएको संकेत देखिएको छ।
यही कारणले प्रधानमन्त्री ओलीको भारत भ्रमण स्थगन हुने अनुमान गरिएको द प्रिन्टले जनाएको छ।















