Logo

१९ भदौ,वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को शैलीमा प्रश्न गरेकी वीरगञ्ज निवासी किरण साहलाई पर्सा जिल्ला अदालतले ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

जिल्ला अदालत पर्साका न्यायाधीश कमलकान्त जोशीको इजलासबाट बिहीबार साहलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो। पर्सा प्रहरीले बुधबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान फाइल बुझाएपछि आज (बिहीबार) अदालतमा बहस भएको थियो।

यसअघि, पर्सा प्रहरीले गत शनिबार साहलाई पक्राउ गरेको थियो। त्यसपछि मंगलबार अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको थियो। अनुसन्धानपछि फाइल वकिल कार्यालयमा बुझाइएको थियो।

हैजाको चपेटामा वीरगञ्ज , मन्त्रीलाई फोन गर्दै चर्को प्रश्न

हाल वीरगञ्ज मुर्लीमा बसोबास गरिरहेकी बारा, कलैयाकी स्थानीय किरण साहले वीरगन्जमा फैलिएको हैजा प्रकोपका विषयमा आक्रोश व्यक्त गर्दै मन्त्री प्रदीप यादवलाई फोन गरेकी थिइन्। सो फोन संवादमा उनले मन्त्री यादवसँग तीव्र र आक्रोशपूर्ण स्वरमा प्रश्न गर्दै केही धम्कीपूर्ण शब्द समेत प्रयोग गरेकी थिइन्।

यही फोन संवादको आधारमा मन्त्रीको सचिवालयले प्रहरीमा उजुरी दिएपछि साहलाई पक्राउ गरिएको हो। साहमाथि ज्यान मार्ने धम्की, झुटा अफवाह फैलाएको र विद्युतिय कारोवारसम्बन्धी अपराध अन्तर्गत तीन वटा मुद्दा लगाएर अनुसन्धान गरिएको थियो।

मन्त्रीको स्पष्टीकरण, जनस्तरमा आलोचना

पक्राउको विषयमा चौतर्फी आलोचना भएपछि मन्त्री प्रदीप यादवले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै घटना बारे स्पष्टीकरण दिएका छन्। उनले आफूले सचिवालयमार्फत प्रहरीले नरम भइदिन सन्देश पठाएको समेत बताएका छन्।

तर, जनस्वास्थ्यसँग जोडिएको विषयमा आक्रोश पोखेको मात्रै आधारमा महिलालाई हिरासतमा पठाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। धेरैले मन्त्री यादवले आफ्नो राजनीतिक पहुँच प्रयोग गरेर सामान्य जनताको आवाज दबाउने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै