Logo

२० भदौ, काठमाडौँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल आजदेखि क्रमशः निष्क्रिय पारिएका छन्। नेपाल सरकारको निर्देशनअनुसार नेपाल टेलिकम र एनसेलले आफ्ना नेटवर्कमार्फत फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्स (पूर्व ट्विटर), म्यासेन्जर, ह्वाट्सएपलगायतका प्लेटफर्म बन्द गरेका हुन्।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले आइतबार पत्राचार गर्दै २६ वटा सामाजिक सञ्जाल बन्द गर्न अनुरोध गरेको थियो। सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार सेवा प्रदायक कम्पनीहरूले कार्यान्वयन अघि बढाएका हुन्।

नेपाल टेलिकमले सूचना जारी गर्दै भनेको छ, “नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई हालका लागि बन्द गरिएको छ।”
त्यस्तै, एनसेलले पनि सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारिएको जानकारी दिएको छ।

यसैबीच, इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले पनि निर्णय कार्यान्वयनको तयारी थालेको छ। आइस्पानको बैठकले प्राविधिक समिति सक्रिय बनाएर प्राधिकरणसँगको छलफलपछि थप कदम चाल्ने जनाएको छ।

नेपाल सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा अनिवार्य दर्ता वा सूचीकरण गर्न सात दिनको म्याद दिएको थियो। तर उक्त अवधि सकिँदासम्म फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सलगायतका कम्पनीहरूले सम्पर्क नगरेपछि सरकारले निष्क्रिय बनाउने निर्णय लिएको हो।

हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै औपचारिक रूपमा सूचीकरण भएका छन्। फेसबुकलगायत प्रमुख सञ्जाल बन्द भएपछि प्रयोगकर्ताहरू टिकटक र भाइबरतर्फ बढी आकर्षित हुन थालेका छन्।

तर, लोकप्रिय सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णयले सरकार व्यापक आलोचनाको केन्द्रमा परेको छ। प्रयोगकर्ताहरूले अभिव्यक्ति स्वतन्त्रता, व्यवसायिक अवसर र सूचनाको पहुँचमा असर पर्ने भन्दै असन्तुष्टि जनाएका छन्।


सम्बन्धित समाचार