२० भदौ,वीरगञ्ज । सरकारले दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूमा रोक लगाएपछि नेपाल टेलिकम र एनसेलले ती प्लेटफर्महरू बन्द गरेका छन्।
नेपाल टेलिकमले बिहीबार सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका सामाजिक सञ्जालहरू हालका लागि बन्द गरिएको जनाएको छ। टेलिकमले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार सेवा बन्द गरिएको स्पष्ट पारेको छ।
सूचनामा उल्लेख छ, “नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन प्राप्त निर्देशनअनुसार हालका लागि बन्द गरिएको जानकारी गराइन्छ।”
यसै क्रममा एनसेलले पनि विज्ञप्ति जारी गर्दै सरकारले रोक लगाएका प्लेटफर्महरू आफ्नो मोबाइल डाटाबाट नचल्ने जानकारी गराएको छ। एनसेलले सेवाबाट पर्न सक्ने असुविधाप्रति प्रयोगकर्तासमक्ष क्षमा समेत मागेको छ।
सरकारले हालसम्म सूचीकरणमा नआएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई अवरुद्ध गर्ने निर्णय गरेको हो। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ल्याइएको ‘सामाजिक सञ्जालको प्रयोग निर्देशिका, २०८०’ अनुसार दर्ता अनिवार्य गरिएको हो।
प्राधिकरणका अनुसार अवरुद्ध गरिएका प्लेटफर्महरूलाई भविष्यमा पुनः सञ्चालनमा ल्याउने विषयमा थप निर्णय निर्देशन प्राप्त भएपछि मात्र हुनेछ।
यस कदमलाई डिजिटल सुरक्षाको दृष्टिकोणले हेर्ने गरिए पनि अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

















