Logo

२० भदौ,काठमाडौं । भूकम्पीय दृष्टिले संवेदनशील मानिने अफगानिस्तान फेरि एकपटक शक्तिशाली भूकम्पको धक्काले हल्लिएको छ। गएराति दक्षिण–पूर्वी दुर्गम क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो। पछिल्ला ६ दिनभित्र यो तेस्रो ठूलो भूकम्प हो, जसले जनजीवनमा थप त्रास फैलाएको छ।

भूकम्पपछि नङ्गरहार र कुनार प्रान्तका स्थानीयहरू त्रासमा परेका छन्। धेरैले आश्रयस्थल छाडेर सुरक्षित स्थानतर्फ पलायन गर्न थालेका छन्।

यद्यपि, पछिल्लो भूकम्पमा कति मानिसको ज्यान गएको वा घाइते भएको भन्ने विषयमा आधिकारिक विवरण आउन बाँकी रहेको छ। कुनार प्रान्तीय अस्पतालमा १७ जना घाइतेलाई उपचारका लागि भर्ना गरिएको खबरमा उल्लेख छ।

यसअघि गएको आइतवार ६.० म्याग्निच्युडको भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो। तालिबान सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले दिएको विवरण अनुसार, उक्त भूकम्पमा २,२०० जनाको मृत्यु र ३,६०० जना घाइते भएका थिए।

दुर्गम भौगोलिक अवस्था, कमजोर पूर्वाधार र लगातारका पराकम्पनका कारण उद्धार तथा राहत कार्य गाह्रो र चुनौतीपूर्ण बनेको छ। गएको मङ्गलवारको ५.५ म्याग्निच्युडको भूकम्पले केही समयका लागि उद्धारकार्य स्थगित भएको थियो।
अफगानिस्तान भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरूको जङ्गलन बिन्दुमा रहेको हुनाले अत्यन्त भूकम्प–प्रवण क्षेत्र हो। भूगर्भविद्हरूका अनुसार यहाँ बारम्बार ठूला भूकम्पहरू आउनु प्राकृतिक संरचनाको कारण हो।

लगातारका भूकम्प र पराकम्पनहरूले स्थानीय बासिन्दा अत्यन्त त्रसित र मानसिक तनावमा रहेका छन्। कैयौँ परिवार अझै पनि खुला आकाशमुनि रात बिताउन बाध्य छन् भने आवश्यक राहत सामग्रीको अभावले स्थिति थप जटिल बनाएको छ।

सरकार तथा अन्तर्राष्ट्रिय सहायता निकायहरूले थप राहत र पुनःस्थापना प्रयास तीव्र बनाउने आवश्यकता औँल्याइएको छ।


सम्बन्धित समाचार
भर्खरै