२० भदौ,काठमाडौं । अमेरिकाले अध्यागमन कानुन उल्लंघनको आरोपमा १९ जना नेपाली नागरिकलाई डिपोर्ट गर्दै बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको छ। चार्टर्ड विमानमार्फत ल्याइएका उनीहरूमध्ये १७ जना पुरुष र २ जना महिला छन्।
नेपाल टर्नि भएका यी नेपालीहरूलाई अध्यागमन कार्यालयले प्रक्रिया पूरा गरेपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अन्जन न्यौपानेका अनुसार, डिपोर्ट गरिएकामध्ये केहीले गम्भीर कानुनी उल्लंघन गरेको आरोप छ।
ट्रम्प प्रशासनपछि कडिएको नीति, २३४ नेपाली डिपोर्ट
न्यौपानेका अनुसार, अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अध्यागमन नीति थप कडा भएको छ। सो अवधिमा हालसम्म २३४ जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरिसकेको छ।
डिपोर्ट गरिएकामध्ये एक जना विद्यार्थी रहेका छन्, जसलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा अमेरिका सरकारले फिर्ता पठाएको हो। अर्का एकजना लायन्स क्लबको कार्यक्रममा सहभागी हुन पुगेका थिए, तर पछि अवैधानिक रूपमा बसेर त्यहाँको कानुन उल्लंघन गरेको आरोपमा उनी पनि डिपोर्ट भएका छन्।
अमेरिकाले हालै ३७ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरेको थियो। तर प्रारम्भिक चरणमा १९ जनालाई मात्र काठमाडौं ल्याइएको छ। बाँकी नेपालीहरूको डिपोर्ट प्रक्रिया पनि चाँडै अघि बढ्ने अनुमान गरिएको छ।
नेपाल ल्याइएका सबै १९ जनालाई अध्यागमनले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइसकेको छ। अब प्रहरीको तर्फबाट व्यक्तिगत विवरण, देशबाहिर जाने प्रक्रियामा भइरहेको सम्भावित अवैध गतिविधि र अन्य कानुनी पक्षबारे अनुसन्धान सुरु हुने बताइएको छ।

















