२० भदौ,काठमाडौं । उपकार सेवा नेपालले यसपटक पनि ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा मासिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ। संस्थाले आश्रममा आश्रित १७ जना अपाङ्ग, मानसिक अवस्थाका बिरामी, वृद्धवृद्धा र बालबालिकाका लागि सहयोग गरेको हो।
सहयोग सामग्रीमा दैनिक जीवनका लागि आवश्यक पर्ने खाद्यान्न र सरसफाइका सामानहरू समावेश थिए। जसमा चामल, पीठो, दाल, खाने तेल, नून, बिस्कुट, टूथब्रश, टूथपेस्ट, चिउरा, भुजा, चना, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डाइपर, धनियाँ, खुर्सानी र बेसार लगायतका वस्तुहरू रहेका छन्।
सहयोग सामग्री हस्तान्तरण गर्न एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले संयुक्त रूपमा ती सामग्री आश्रमका सदस्य रामबहादुर थिङलाई हस्तान्तरण गरेका थिए।
उपकार सेवा नेपालले प्रत्येक महिना आश्रममा आश्रितहरूको स–साना आवश्यकता पूरा गर्दै आएको छ। संस्थाका पदाधिकारीहरूले मानव सेवामा नै जीवनको सच्चा सन्तुष्टि मिल्ने बताउँदै आगामी दिनहरूमा पनि समाजसेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।















