२० भदौ, काठमाडौं । ललितपुरको गोदावरीमा आजबाट सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा रोचक दृश्य देखिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनसँग सम्बन्धित नभएको र यसमा छलफल नहुने अडान दोहोऱ्याए पनि महाधिवेशनस्थलमा भने भण्डारीको सन्देशसहितका चिठीहरू वितरण गरिएको छ । उद्घाटन समारोहमा बोल्दै ओलीले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरूलाई अनावश्यक रूपमा संवेदनशील बनाइएको बताएका थिए ।
तर, ओलीले सम्बोधन गरिरहेकै समयमा महाधिवेशनस्थलमा भण्डारीको व्यक्तिगत सन्देश लेखिएको चिठी वितरण गरिएको हो। चिठी वितरण गर्नेहरूले आठदेखि दस हजार थान चिठी बाँड्ने लक्ष्य राखेको बताएका छन् । यस घटनाले पार्टीभित्रको आन्तरिक विवाद र मतभेद अझै पनि गहिरो रहेको संकेत गरेको छ ।















