२० भदौ, काठमाडौं । चालू आर्थिक वर्षको सुरुमै घरजग्गा कारोबारमा भारी गिरावट आएको छ ।
गत आर्थिक वर्षमा केही सुधार देखिएको यस क्षेत्रमा अहिले फेरि सुस्तता छाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।विभागका अनुसार, गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा घरजग्गा कारोबार २८ प्रतिशतले घटेको छ । साउन २०८१ मा देशभर ४३ हजार ८३५ वटा घरजग्गा कारोबार भएकोमा यस वर्षको साउनमा यो संख्या घटेर ३१ हजार ६२१ मा सीमित भएको छ ।
कित्ताकाट रोकिँदा कारोबारमा असर
यस गिरावटको मुख्य कारण सरकारले कित्ताकाट रोक्नुलाई मानिएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार, कित्ताकाट रोकिएपछि घरजग्गा कारोबार लगभग ठप्प भएको छ । सरकारले भू–उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नगरेका कारण र नियमावलीको म्याद सकिएपछि साउन १ गतेबाट कित्ताकाट पूर्ण रूपमा रोकिएको छ ।
उपत्यकामा पनि कारोबार घट्यो
साउन महिनामा काठमाडौं उपत्यकामा ३ हजार २० वटा मात्रै घरजग्गा कारोबार भएको छ । यसमा ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न मालपोत कार्यालयहरूको तथ्यांकले पनि कारोबारमा आएको सुस्ततालाई पुष्टि गर्छ। उदाहरणका लागि, ललितपुरको गोटीखेल मालपोत कार्यालयबाट मात्र ६ वटा कारोबार भएको छ ।















