२० भदौ,गाजा । इजरायली सेनाले गाजा सहर र वरपरका क्षेत्रमा तीव्र हवाई तथा स्थलीय आक्रमण जारी राख्दा कम्तीमा १४ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। गाजास्थित चिकित्सा स्रोतहरूले आक्रमणका घटनाबारे जानकारी दिएका छन्।
गाजाको एक आवासीय अपार्टमेन्टमा इजरायली लडाकु विमानले गरेको बम आक्रमणमा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएका छन्। यसैगरी, रामल्लास्थित विस्थापितहरूको शिविरमा गरिएको इजरायली गोलाबारीमा तीन जना मारिएका छन् भने धेरै नागरिक घाइते भएका छन्।
सहरको विभिन्न क्षेत्रमा आक्रमण जारी छ। एक आवासीय भवनमा गरिएको अर्को हवाई आक्रमणमा एक जनाको ज्यान गएको जनाइएको छ। गाजा सहरको दक्षिण भाग, विशेषगरी ताल अल हवा र साब्राका क्षेत्रमा गरिएको आक्रमणमा थप पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।
सहरको पश्चिममा रहेको एक विस्थापित शिविरमा इजरायली ड्रोनद्वारा गरिएको छुट्टै आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको र कैयौँ घाइते भएको जनाइएको छ।
इजरायली सेनाले गाजा सहर कब्जा गर्ने लक्ष्यसहितको “दोस्रो चरणको अभियान“ अन्तर्गत आक्रमणलाई तीव्र बनाएको बताएको छ। हालको आक्रमणले मानवीय संकट झनै गहिरिँदै गएको चेतावनी अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूले दिएका छन्।
स्थिति झनै बिग्रँदै गएको भन्दै, गाजामा राहत तथा उद्धार कार्य कठिन बनेको अन्तर्राष्ट्रिय रेड क्रस तथा स्थानीय निकायहरूले बताएका छन्।

















