Logo

२१ भदौ, विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्किन संविधानले रोक्न नसक्ने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधानमा यस्ता व्यक्तिहरूको राजनीतिक संलग्नता निषेध गरिएको उल्लेख नभएको बताए।

उनले भने, “वास्तवमा मलाई थाहा छैन धेरै कुराहरू, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किएकी छिन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा सहभागी भइसकेका छन्। यद्यपि, एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ।

संविधान संशोधनको विषयमा देउवाले दुई तिहाइ बहुमत आवश्यक पर्ने बताए। उनले संविधान संशोधनका लागि दलहरूबीच छलफल भइरहेको जानकारी पनि दिए।

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूबारे देउवाले हाललाई कुनै फेरबदलको तयारी नरहेको स्पष्ट पारे। “मन्त्रीलाई फिर्ता बोलाउने वा नयाँ पठाउने भन्ने विषयमा कुनै कुरा भएको छैन,” उनले भने।


सम्बन्धित समाचार
भर्खरै