Logo

२१ भदौ,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले देशमा बढ्दो राजनीतिक अस्थिरता अन्त्य गर्न वर्तमान सरकार गठन गरिएको स्पष्ट पारेका छन्। शनिबार कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले तीन–तीन महिनामा सरकार परिवर्तन हुने प्रवृत्तिले स्थायित्वमा असर परेको बताउँदै अबको सरकार स्थायित्व र स्थायीसँगै सुधारतर्फ अग्रसर हुने बताए।

गृहमन्त्री लेखकले भने, “राजनीतिक अस्थिरता अन्त्य गरी स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको हो।” उनले यस्ता सरकारहरूले नीति र कानुन निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरे।

निजामती सेवा दिवसको अवसरमा बोल्दै उनले निजामती कर्मचारीहरूलाई शुभकामना व्यक्त गरे। उनले कर्मचारीहरूलाई राष्ट्र र जनताको सेवा केन्द्रमा राखेर कार्य गर्न आग्रह गरे। “तपाईंहरू स्थायी सरकारका प्रतिनिधि हो, देश र जनताको सेवामा निष्पक्ष भएर लाग्नुपर्छ,” उनको भनाइ थियो।

गृहमन्त्री लेखकले जानकारी दिए अनुसार, संविधान बनेको दशक पुग्न लाग्दासमेत पारित हुन नसकेको निजामती सेवा विधेयक अब अन्तिम चरणमा पुगेको छ। उनले भने, “२०७२ सालमा संविधान बने पनि निजामती सेवा विधेयक अझै पास भएको थिएन, अहिले भने यसै महिना पारित हुने तयारीमा छ।”

साथै, शिक्षा ऐनलगायतका अन्य महत्वपूर्ण विधेयकहरू पनि संसदमा दर्ता भइसकेको र पारित हुने प्रक्रियामा रहेको जानकारी दिए।


सम्बन्धित समाचार
भर्खरै