Logo

२१ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चारकर्मीहरूलाई सरकारका सकारात्मक कामहरू जनतासमक्ष प्रभावकारी रूपमा पुर्‍याउन र कमजोरीहरूको आलोचना गर्न आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रले सरकारको ऐना बन्नुपर्ने बताए।

अर्थमन्त्री पौडेलले भने, “बर्तमान सरकार आलोचना सुन्न सक्ने क्षमतायुक्त छ। सञ्चारकर्मीहरूले सरकारका राम्रा काम जनतामा पुर्‍याउनुहोस् र कमजोरीहरूलाई खुलेर औंल्याउनुहोस्।” उनले सञ्चारकर्मीसँगको सहकार्यले नीति निर्माणमा पारदर्शिता र जवाफदेहिता बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस-युक्रेन युद्धलगायत बाह्य कारणले अर्थतन्त्रमा नकारात्मक असर परेको तर अहिले सुधारको संकेत देखिएको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुन क्षेत्रमा कति लगानी आवश्यक छ भन्नेबारे परिसंघले अध्ययन गरिरहेको जानकारी दिए। उनले लगानी आकर्षणका लागि नीतिगत तथा कानुनी सुधार अपरिहार्य रहेको बताए।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रका केही सूचकहरू सुधार भए पनि निजी क्षेत्र अझै लगानीका लागि पर्याप्त रूपमा उत्साहित नभएको बताए। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरूको कार्यान्वयनमा जोड दिए।


सम्बन्धित समाचार
भर्खरै