Logo

२१ भदौ,वीरगञ्ज । २२ औं निजामती सेवा दिवस २०८२ को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगञ्जको संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदी रहेका थिए। त्यस्तै विशिष्ट अतिथिमा मधेश प्रदेश कार्यालयका एसएसपी शान्ती राज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र,शस्त्र प्रहरी पर्साका एसपी पुरनचन्द्र भट्ट, लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१० का अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए। अध्यक्ष खेतानका अनुसार कार्यक्रममा करिब ६० वटा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै तिनको दीर्घकालीन संरक्षणका लागि लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) समेत जडान गरिएको हो।

वृक्षारोपण कार्यक्रम पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१६ स्थित वाईपास रोड, वैष्णवी मन्दिर चौक परिसरमा सम्पन्न भएको थियो।

सामाजिक दायित्व र वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

सहभागीमध्ये प्रकाश ऐरी, सुशील कादमियाँ, राकेश अग्रवाल, कैलाश बजाज, त्रिलोकचन्द्र दरूका, शिव गुप्ता, वसन्त प्रसाद उपाध्याय सक्रिय देखिएका थिए। त्यस्तै सुरक्षाकर्मी तर्फबाट प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी सहायक हवल्दार अजिता घिमीरे र प्रहरी जवान अमर सिंह साउद समेतको सहभागिता उल्लेखनीय रह्यो।

कार्यक्रमले वातावरणीय संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको सहभागीहरूले जनाएका छन्।


सम्बन्धित समाचार