Logo

२१ भदौ,नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालले मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएका बिरामीलाई जीवनरक्षात्मक ‘अल्टेप्लेज’ इन्जेक्सन निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। यस निर्णयले विशेष गरी सिमान्तकृत, विपन्न तथा टाढाका जिल्लाबाट आउने बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

पक्षघात हुनबाट बचाउने प्रभावकारी उपचार
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पु¥याई इन्जेक्सन दिइयो भने पक्षघात (पारालाइसिस) हुनबाट जोगिन सकिन्छ। समयमै उपचार गरिए बिरामी पुरानै अवस्थामा फर्किन सक्ने सम्भावना अत्यन्त उच्च हुने चिकित्सकहरूको भनाइ छ।

एक लाख मूल्य पर्ने इन्जेक्सन अब निःशुल्क
‘अल्टेप्लेज’ नामको यो इन्जेक्सनको एक भायलको मूल्य करिब एक लाख रुपैयाँ पर्छ, जसले धेरै नेपाली बिरामीका लागि पहुँच बाहिरको विषय बन्दै आएको थियो। तर अबदेखि भेरी अस्पतालमा यसलाई निःशुल्क प्रदान गरिने भएको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार हाल पहिलो चरणमा २० भायल इन्जेक्सन अस्पतालमा उपलब्ध छन्, जसबाट करिब सात जना बिरामीको उपचार सम्भव हुनेछ।
हालसम्म काठमाडौँ, भरतपुरजस्ता सरकारी अस्पतालहरूमा मात्र यो सेवा निःशुल्क उपलब्ध थियो। भेरी अस्पतालमा भने डा. सुवेदी र डा. पाण्डेको पहलमा पहिलो पटक यो सेवा सुरु गरिएको हो।

यो सेवाले बाँकेसहित बर्दिया, दाङ, सुर्खेत, दैलेख, सल्यानजस्ता आसपासका जिल्लाका बिरामीहरूलाई उपचारमा सहजता र राहत दिने अपेक्षा गरिएको छ। मस्तिष्कघात भएका बिरामीका लागि समयमै उपचार पुग्नु ज्यान बचाउने कडी हुने भएकाले यो व्यवस्था निकै महत्वपूर्ण मानिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै जारी गरेको मस्तिष्कघात उपचारसम्बन्धी कार्यविधि अनुसार, सरकारी अस्पतालहरूले गुणस्तरीय, शीघ्र उपचार सुनिश्चित गर्नुपर्ने व्यवस्था छ। यसै कार्यविधिको प्रभावकारी कार्यान्वयनको रुपमा भेरी अस्पतालको यो निर्णय आएको हो।


सम्बन्धित समाचार