२१ भदौ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू सङ्घीयताको पक्षमा नरहेको आरोप लगाएका छन्। उनले यी दुई प्रमुख राजनीतिक शक्तिहरूकै कारण देशको सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा ठूलो सङ्कटमा परेको दाबी गरे।
शुक्रबार जनकपुरधाममा सङ्घीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको ’वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै सङ्कटमा छ, धरापमा छ। काँग्रेस र कम्युनिस्टको कारण हो। नेपाली काँग्रेस कहिल्यै पनि सङ्घीयताको पक्षमा छैन र गणतन्त्रको पक्षमा पनि थिएन।” उनले काँग्रेसको मूल मन्त्र बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र रहेको र अहिले पनि त्यसैको माला जप्ने गरेको आरोप लगाए।
उनले नेपालमा अब वास्तविक कम्युनिस्टहरू नरहेको र कम्युनिस्टको नाममा कमाउने र अवसरवादीहरूको झुण्ड मात्र जम्मा भएको बताए। “जो कहिले पनि नेपालमा सङ्घीयता र समावेशिताको पक्षमा छैनन्,” उनले भने, “अहिले दुवै मिलेर सबैभन्दा धेरै प्रहार सङ्घीयतामाथि गरिरहेका छन्। यो देखावटी र नक्कली सङ्घीयता हो।”
यादवले प्रदेश सरकारसँग कुनै अधिकार र कानुन नभएको भन्दै यस्तो अवस्थामा सरकारले काम गर्न नसक्ने बताए।















