२२ भदौ, काठमाडौँ । बिहानैदेखि रातिसम्म सामाजिक सञ्जाल स्क्रोल गर्ने बानी नेपाली समाजमा सामान्य भइसकेको छ। यसले महिला, बालबालिका र पारिवारिक सम्बन्धमा नकारात्मक असर पारिरहेको भन्दै अभिभावकहरू बेलाबखत चिन्ता व्यक्त गर्दै आएका थिए।
नेपाल सरकारले दर्ता नगरेका र कर नतिरेका २६ वटा सामाजिक सञ्जाल तथा एप्सलाई बिहीबारदेखि अस्थायी रूपमा बन्द गरेको छ। सरकारले अब दर्ता र कर तिरेपछि मात्रै यस्ता एप्स प्रयोग गर्न पाइने व्यवस्था लागू गरेको हो।
यस कदमले धेरै अभिभावकलाई राहत मिलेको छ। वीरगञ्जका ओमप्रकाश पटेल भन्छन्, “हिजोअस्ति छोराछोरी किताबभन्दा बढी मोबाइलमा हराइरहेका थिए, अब तिनीहरूलाई पढाइमा फर्काउने अवसर मिल्ने छ।”
त्यसैगरी, व्यवसायी सन्जय साहले सरकारको निर्णयलाई परिवारमा आत्मीयता फर्काउने अवसरका रूपमा लिएका छन्। “मोबाइलले एउटै कोठामा बसे पनि सदस्यबीच दूरी बढाएको थियो, अब संवादमा नजिकिने आशा पलाएको छ,” उनी भन्छन्।
मनोविज्ञानका शिक्षक हरिप्रसाद यादवका अनुसार सामाजिक सञ्जाल आफैंमा नराम्रो नभए पनि यसको अनियन्त्रित प्रयोगले पारिवारिक मूल्य कमजोर बनाएको छ। “अस्थायी भए पनि यो निर्णयले मानिसलाई आत्ममूल्याङ्कन गर्न बाध्य बनाउने छ,” उनले बताए।
तर, सबै पक्ष यसबाट खुसी छैनन्। वीरगञ्जकै प्रतिमालाई भने ठूलो कठिनाइ परेको छ। उनका श्रीमान कतारमा छन् र उनीहरूसँग नियमित कुराकानी फेसबुक मेसेन्जरमार्फत हुँदै आएको थियो। “दुई दिनदेखि श्रीमानसँग कुरा हुन सकेको छैन,” उनले दुःख व्यक्त गरिन्।
शिक्षिका रजनी यादवले पनि सामाजिक सञ्जालले महिलामा देखाएको असरबारे अनुभव सुनाइन्। “घरायसी काम सकेपछि भेटघाट वा संवादभन्दा बढी महिलाहरू मोबाइलमै व्यस्त हुने गरेका थिए। अहिलेको अवस्था निरन्तर रह्यो भने महिलालाई वास्तविक सामाजिक गतिविधिमा फर्काउन सकिन्छ,” उनी भन्छिन्।
विशेषज्ञहरूको सुझाव छ—सामाजिक सञ्जाललाई पूरै बन्द गर्नेभन्दा कानुनअनुसार व्यवस्थित गर्दै जिम्मेवार र सही प्रयोगलाई बढावा दिन आवश्यक छ।















