Logo

२२ भदौ, काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहितका प्रतिवादीहरूविरुद्ध दायर भएको पतञ्जलि जग्गा हिनामिना मुद्दाको सुनुवाइ सुरु भएको छ ।

यो भ्रष्टाचार मुद्दा आज विशेष अदालतमा पेसी चढेको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

यस मुद्दामा पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त, पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीका प्रमुख शालिग्राम सिंह लगायत ९३ जनालाई प्रतिवादी बनाइएको छ।

के हो पतञ्जलि जग्गा प्रकरण?

उद्योग सञ्चालनका लागि भनेर हदबन्दी छुट दिइएको जग्गालाई कानुन विपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको आरोप छ। मन्त्रिपरिषद्को निर्णयअघि नै नेपालले तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई जग्गा बिक्रीको प्रस्ताव ल्याउन निर्देशन दिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

सोही प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले जग्गा बिक्री गर्न बाटो खोलिदिएको थियो। यस प्रकरणमा संलग्न मानिएका तत्कालीन मन्त्री श्रेष्ठको गत वर्ष निधन भइसकेको छ भने तत्कालीन मुख्य सचिव माधव घिमिरे १० वर्षअघि त्रिशूली नदीमा भएको जिप दुर्घटनामा बेपत्ता छन्।

 

 

 


सम्बन्धित समाचार
भर्खरै