२२ भदौ, काठमाडौं। ललितपुर महानगरपालिकाले जावलाखेलस्थित ऐतिहासिक न्हुस् पोखरीको डिलमा रहेको अतिक्रमित संरचना भत्काएको छ ।
महानगरले आइतबार पोखरीको उत्तरतर्फ रहेको बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका भवनहरू डोजर लगाएर भत्काएको हो । महानगरले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने आफ्नो दायित्वअनुसार गत साउन १७ गते नै ३५ दिनभित्र अवैध संरचना हटाउन सूचना जारी गरेको थियो । तोकिएको समयमा पनि संरचना नहटाएपछि महानगर आफैंले प्रहरीको सहयोगमा ती संरचनाहरू भत्काएको हो ।
महानगरपालिकाले वडा नम्बर ५ मा रहेको न्हुः पोखरीलाई पुरानै स्वरुपमा फर्काउन विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० स्वीकृत गरिसकेको र बजेटसमेत विनियोजन गरिसकेको जनाएको छ । यता, बुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले भने महानगरसँग पटक–पटक छलफल गर्दा पनि कुनै समाधान ननिस्केको आरोप लगाएका छन्। उनले महानगरले उच्च अदालतको अन्तरिम आदेशको समेत पालना नगरेको दाबी गरेका छन्।















