Logo

२२ भदौ,वीरगञ्ज । वीरगञ्जसहित पर्सा जिल्लामा हाल फैलिएको हैजा र झाडापखालाको संक्रमण नियन्त्रण गर्न नेपाली सेनाका स्वास्थ्यकर्मीहरू पनि खटिएका छन्। संक्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको श्रीजंग गण, वीरगञ्जबाट चार जना चिकित्सकहरू खटिएका हुन्।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको विशेष अनुरोधमा श्रीजंग गणका गणपति तथा कर्णेल लोकेन्द्र कार्कीसँगको बैठकपछि बिहीबारदेखि सेनाका चिकित्सकहरूलाई अस्पतालमा खटाइएको हो।

कर्णेल कार्कीका अनुसार हैजाले सिर्जना गरेको आपत्कालीन स्वास्थ्य चुनौतीलाई ध्यानमा राख्दै तत्काल सहयोगका लागि चिकित्सक टोली पठाइएको हो। उनले स्थानीय तह, अस्पताल र सुरक्षाकर्मीबीचको सहकार्यबाट रोग नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

हाल नारायणी अस्पतालमा झाडापखाला र हैजाका बिरामीहरूको उपचार भइरहेको छ। स्वास्थ्यकर्मीहरूले स्थानीय समुदायलाई सुरक्षित खानेपानी, सरसफाइ र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

नेपाली सेनाले प्राकृतिक विपत्ति वा आकस्मिक परिस्थितिमा यसअघि पनि उपचार, उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएको छ।


सम्बन्धित समाचार