२३ भदौ, काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । मन्त्री गुरुङविरुद्ध सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देशहरू आउन थालेपछि सरकारले सुरक्षात्मक तयारी बढाएको हो ।
सुरक्षा संवेदनशीलताका कारण मन्त्री गुरुङको निवासदेखि कार्यालयसम्मको आवतजावतमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । उनी सहभागी हुने सार्वजनिक कार्यक्रममा पनि वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको देखिन्छ ।
हालै केही सामाजिक सञ्जाल प्रतिबन्धित भएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङमाथि जनआक्रोश बढेको छ । फेसबुक बन्द भएपछि ‘फोटो त भाइबरमा पोष्ट गर’ भन्ने खालका टिप्पणी सार्वजनिक रूपमा गरेका कारण पनि उनीप्रति असन्तोष चुलिएको देखिन्छ ।
सामाजिक सञ्जाल बन्दीलाई लिएर विद्यार्थी, व्यवसायी तथा सर्वसाधारणबीच असन्तोष बढिरहेको बेला मन्त्री गुरुङमाथि लक्षित धम्कीपूर्ण अभिव्यक्तिहरू खुलेआम प्रवाह हुन थालेपछि सुरक्षा निकायले सतर्कता उच्च स्तरमा पुर्याएको हो ।















