Logo

२३ भदौ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष हुने वैधानिक बाटो खोलेको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

महाधिवेशनबाट अध्यक्षमा दुई कार्यकाल र ७० वर्षको उमेर हदसम्बन्धी प्रावधान हटाइएको छ। यससँगै ओलीलाई आगामी महाधिवेशनमा पनि अध्यक्ष बन्ने मार्ग प्रशस्त भएको छ।

समूहगत छलफलमा अधिकांश प्रदेश नेतृत्वले ओलीको विकल्प फिलहाल नभएको र नेतृत्वलाई अझै सबल बनाउने समय आएको निष्कर्ष प्रस्तुत गरेका थिए। लुम्बिनी, कर्णाली, गण्डकी, बागमती, मधेश, कोशी र सुदूरपश्चिमका नेताहरूले विधान संशोधनको समर्थन गर्दै समाजवादको नेपाली विशेषता अनुसार पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाको जवाफ दिँदै जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्पष्ट गरे। उनले नेपालले अन्य मुलुकको समाजवादको नक्कल नगरी मौलिक विशेषतामा आधारित समाजवाद निर्माण गर्ने बताए।

उपाध्यक्ष पौडेलले पार्टी सक्षम नेतृत्वसहित सही दिशामा अघि बढिरहेको उल्लेख गर्दै २०८४ सम्म बहुमतको सरकार गठन गर्ने लक्ष्य दोहोर्याए। महासचिव पोखरेलले संगठन विस्तारबारे सुझाव र जिज्ञासाको जवाफ दिए।

महाधिवेशनले डा. विजय सुब्बा अध्यक्ष रहेको केन्द्रीय निर्वाचन आयोग निर्वाचित गरेको छ। साथै, सचिव योगेश भट्टराईले प्रस्तुत गरेको २९ बुँदे समसामयिक प्रस्ताव पनि पारित भएको छ।

प्रधानमन्त्री ओलीले हालै सम्पन्न साङ्घाई सहयोग सङ्गठन (SCO) को सम्मेलनमा चीनसँग भारतमार्फत लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने समझदारीप्रति असहमति प्रकट गर्दै नेपालको सार्वभौमिकता र सीमा सुरक्षामा स्पष्ट अडान राखेको महाधिवेशनको ठहर छ।

गत २० भदौदेखि सुरु भएको विधान महाधिवेशन गएराति सम्पन्न भएको हो।


सम्बन्धित समाचार