२३ भदौ, काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पञ्चाङ्गअनुसार पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नभित्र सम्पन्न गर्नुपर्ने हुन्छ।
सोह्र श्राद्धमा आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल तृतीयासम्म १६ दिनसम्म दिवंगत पितृहरूको स्मरण गरिँदै तर्पण, सिदादान र पिण्डदान गरिन्छ। पितृलाई श्रद्धा र भक्तिका साथ सम्झिने यो वैदिक सनातन हिन्दू परम्परा अपर, प्रेत पक्ष आदि नामले पनि चिनिन्छ।
धर्मशास्त्रअनुसार यस समयमा पितृले सन्तानबाट तर्पण र दानको आशा राखेका हुन्छन् भन्ने विश्वास रहिआएको छ। ठूला पर्व, यज्ञ–यागादि वा चाडपर्व मनाउनुअघि पितृ तृप्तिका लागि यो कर्म गरिनु परम्परा रहेको छ।
पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृतृप्तिका कर्म सम्पन्न गर्नुपर्ने धार्मिक मान्यता विद्यमान छ।














