२३ भदौ, काठमाडौं । नेपाल सरकारले फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, एक्स (ट्विटर), रेडिट, युट्युब, स्न्यापच्याटलगायतका सामाजिक सञ्जाल बन्द गरेपछि नेपाली प्रयोगकर्ताबीच नयाँ विकल्प एपहरू तीव्रगतिमा डाउनलोड भइरहेका छन् ।
यस क्रममा सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा पहिलो नम्बरमा भाइबर रहँदा दोस्रो नम्बरमा ‘1.1.1.1 + WARP’ नामक एप पुगेको छ । सामान्यतया इन्टरनेटको गति, सुरक्षा र गोपनीयताको लागि प्रयोग हुने यो सेवा अहिले नेपालमा सामाजिक सञ्जाल पहुँच गर्न प्रयोगकर्ताबीच अत्यधिक लोकप्रिय बन्दै गएको छ ।
के हो 1.1.1.1 ?
‘1.1.1.1’ क्लाउडफ्लेयरद्वारा सञ्चालित एक सार्वजनिक डीएनएस रिजल्भर हो । इन्टरनेटलाई ‘फोनबुक’ जस्तै कार्य गर्ने डीएनएस सामान्यतया प्रयोगकर्ताको इन्टरनेट सेवा प्रदायक (ISP) ले ह्यान्डल गर्छ । तर प्रायः ढिलो, असुरक्षित हुने र डेटा विज्ञापनका लागि बेचिने सम्भावना हुने भएकाले क्लाउडफ्लेयरले छिटो र गोप्य विकल्पको रूपमा 1.1.1.1 उपलब्ध गराएको हो ।
यो सेवाले प्रयोगकर्ताको व्यक्तिगत डेटा बेच्दैन, लगहरू स्थायी रूपमा राख्दैन र २४ घण्टाभित्रै मेटाइन्छ । यसले इन्टरनेटलाई छिटो र निजी बनाउन मद्दत गर्छ ।
WARP के हो ?
‘WARP’ भनेको 1.1.1.1 मा आधारित अतिरिक्त सेवा हो, जसले केवल डीएनएस अनुरोध मात्र होइन, प्रयोगकर्ताको सम्पूर्ण इन्टरनेट ट्राफिकलाई सुरक्षित गर्छ । यो एक किसिमको VPN जस्तै सेवा भए पनि जियो-अनलकिङ वा पूर्ण गुमनाम बनाउने उद्देश्य नभई मुख्यत: गति र विश्वसनीयतामा केन्द्रित छ ।
क्लाउडफ्लेयरले प्रयोगकर्ताको पहिचानयोग्य डेटा नबेच्ने र विज्ञापनका लागि प्रयोग नगर्ने दाबी गरेको छ । यसले WireGuard प्रोटोकल प्रयोग गर्ने भएकाले मोबाइलमा ब्याट्री खपत कम हुन्छ र कमजोर सिग्नलमा पनि स्थिर इन्टरनेट प्रदान गर्छ ।
कसरी प्रयोग गर्ने ?
यो सेवा एन्ड्रोइड तथा आईओएस दुवै मोबाइलमा ‘1.1.1.1 + WARP: Safer Internet’ नामले प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । एप खोलेर एक क्लिकमै ‘Connected’ राखेपछि सेवा सक्रिय हुन्छ ।
त्यस्तै विन्डोज वा म्याकओएस प्रयोगकर्ताले क्लाउडफ्लेयरको वेबसाइट (1.1.1.1) बाट डेस्कटप क्लाइन्ट डाउनलोड गरी सजिलै प्रयोग गर्न सक्छन् ।
नेपालमा यसको प्रयोग बढ्नुको कारण
सरकारले सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि धेरैले VPN वा यस्तै विकल्प खोजिरहेका छन् । यस क्रममा 1.1.1.1 + WARP एपले डीएनएस ब्लकिङलाई बाइपास गर्न सक्ने भएकाले सामाजिक सञ्जाल पहुँच गर्न प्रयोगकर्ताबीच लोकप्रिय भएको हो ।















