Logo

२३ भदौ,काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आज औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा दिएका छन्। संसदको माथिल्लो सदनमा सत्तारुढ गठबन्धनले बहुमत गुमाएपछि इशिबाको राजनीतिक भविष्य अन्योलमा पर्दै आएको थियो।

यो वर्ष जुलाईमा सम्पन्न माथिल्लो सदनको चुनावमा इशिबा नेतृत्वको सत्तारुढ गठबन्धन पराजित भएपछि उनीमाथि राजीनामाको दवाव चुलिँदै गएको थियो। यसको अघिल्लो वर्ष, अक्टोबरमा तल्लो सदनमा पनि गठबन्धनले बहुमत गुमाइसकेको थियो। जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ, जसले सरकार गठन तथा नीति निर्माणमा निर्णायक भूमिका खेल्दछ।

चुनावअघि दिएका थिए पद नछोड्ने संकेत

चुनाव प्रचारको क्रममा प्रधानमन्त्री इशिबाले आफू पदमा रहिरहने प्रतिबद्धता जनाएका थिए। उनले अगस्ट १ सम्ममा अमेरिकासँग प्रस्तावित व्यापार सम्झौता सम्पन्न गर्ने आफ्नो योजनालाई अघि सार्दै पदमा टिकिरहने संकेत दिएका थिए।

“जापानले अगस्ट १ सम्ममा अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ। यो मेरो प्राथमिक जिम्मेवारी हो,” उनले चुनावका बेला भनेका थिए।

तर संसदमा दोहोरो बहुमत गुमाएपछि उनको नेतृत्वलाई लिएर दलभित्र र बाहिर चर्को आलोचना बढेको थियो। विश्लेषकहरूले यो राजनीतिक संकट इशिबाको शासनकालको अन्त्यको संकेत भएको भन्दै आएका थिए।

पार्टीभित्र नेतृत्व परिवर्तनको तयारी

इशिबाको राजीनामापछि सत्तारुढ पार्टी अब नयाँ नेतृत्व चयनको तयारीमा जुट्ने भएको छ। राजनीतिक वृत्तमा इशिबापछि आउने सम्भावित नेताहरूको चर्चा सुरु भइसकेको छ।


सम्बन्धित समाचार
भर्खरै