२३ भदौ,काठमाडौं । नयाँबानेश्वरमा जारी जेनजी प्रदर्शनको रिपोर्टिङ गरिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ प्रहरीको रबरको गोलीबाट घाइते भएका छन्।
श्रेष्ठलाई प्रदर्शनस्थलमा भिडको दृश्य खिच्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेको हो। उनलाई तत्काल उद्धार गरी सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ। हाल उनी चिकित्सकको निगरानीमा रहेका छन्।
घटनास्थलमा रहेका पत्रकारहरूले श्रेष्ठ प्रदर्शनस्थलको सामान्य रिपोर्टिङ गर्दै गरेका बेला गोली लागेको बताएका छन्। उनका सहकर्मीहरूका अनुसार, श्रेष्ठको पाखुरामा चोट लागेको छ र अवस्था अहिले खतरामुक्त छ।
बानेश्वर क्षेत्रमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले आज दिउँसोदेखि अश्रुग्यास, पानीको फोहरा र रबरको गोली प्रयोग गरिरहेको छ। आन्दोलन उग्र बनेपछि कफ्र्यू आदेशसमेत जारी गरिएको छ।
पत्रकार श्रेष्ठमाथि गोली लागेपछि प्रेस क्षेत्रबाट तत्कालै प्रहरी बल प्रयोगप्रति विरोध जनाइएको छ। नेपाल पत्रकार महासंघ, एडिटर्स गिल्डलगायत संस्थाहरूले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।
“शान्तिपूर्ण रूपमा आफ्नो काम गरिरहेका पत्रकारमाथि गोली चलाउनु प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला हो,” महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।















