२३ भदौ,काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन थप उग्र बनेपछि सरकारले काठमाडौंको बानेश्वर क्षेत्रलाई कफ्र्यू क्षेत्र घोषणा गरेको छ। अवस्था नियन्त्रण बाहिर जान थालेपछि सेना समेत परिचालन गरिएको छ।
जेनजी आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद भवनभित्र प्रवेश गरेपछि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो। त्यसपछि स्थिति नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेनालाई समेत परिचालन गरिएको छ।
कसरी पुग्यो आन्दोलन संसदभित्रसम्म?
सोमबारदेखि सुरु भएको यो आन्दोलन आज तेस्रो दिन संसद भवनको मूल गेट चढ्दै भित्र प्रवेशसम्म पुगेको हो। प्रदर्शनकारीहरूले ढुंगामुढा, ब्यानर, नाराबाजीका बीच संसद परिसरभित्रै विरोध जनाएका थिए।
प्रहरीले असफल प्रयासपछि बल प्रयोग गर्दै अश्रुग्यास, पानीको फोहरा र रबरको गोली प्रयोग गर्यो। तर अवस्था झनै जटिल बनेपछि अन्ततः सेना बोलाउनुपरेको हो।
किन आक्रोशित छन् जेनजीहरू?
जेनजी पुस्ताका युवाहरू सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सरकारी निकायमा मौलाउँदै गएको भ्रष्टाचार, नातावाद, राजनीतिक दलहरूको गैरजिम्मेवार व्यवहार र नेताहरूको बिलासी जीवनशैली प्रति आक्रोशित छन्।
उनीहरूले आवाज थुनिने प्रयासका विरुद्ध “हामी मौन छैनौं, यो पुस्ता अब जागेको छ” भन्ने नारासहित देशभर प्रदर्शन गरिरहेका छन्।















