२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका कारण काठमाडौंको अवस्था थप बिग्रिएपछि जिल्ला प्रशासन कार्यालयले शीतलनिवास, सिंहदरबार, नारायणहिटी लगायतका मुख्य क्षेत्रहरूमा पनि कर्फ्यु आदेश जारी गरेको छ ।
यो आदेश आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुनेछ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी गरिएको यस आदेशअनुसार तोकिएका क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा हिँडडुल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
कर्फ्यु लागू भएका मुख्य क्षेत्र र सीमानाहरूः
शीतलनिवास (राष्ट्रपति कार्यालय) क्षेत्रः महाराजगञ्ज क्षेत्र, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अगाडि, सामाखुसी मोडदेखि १०० मिटर दक्षिण र सामाखुसी खोल्सासम्म।
हरित गृह (उपराष्ट्रपति कार्यालय) क्षेत्रः केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म।
नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रः केशरमहल चोकदेखि जयनेपाल मोडसम्म र महेन्द्र सालिकसम्म।
सिंहदरबार क्षेत्रः भद्रकाली मन्दिरको पूर्वी कुनादेखि सिंहदरबार मूल गेटसम्म, पद्मोदय मा।वि।को मोडसम्म, महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोडसम्म, सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, र सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म ।















