२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले) सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन् ।
मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले वर्तमान परिस्थितिको जिम्मेवारी लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका छन्। महामन्त्रीद्वयले पार्टी सभापति शेरबहादुर देउवालाई पनि सरकारमा सहभागी भएका सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका छन्।
उनीहरूले यदि सभापति देउवाले यो आग्रह नमानेमा अन्य पार्टीगत प्रक्रियाबाट निर्णय लिन बाध्य हुने चेतावनीसमेत दिएका छन्। यो घटनाले सत्तारूढ गठबन्धनभित्र ठूलो खटपट सुरु भएको संकेत गरेको छ।

















