Logo

२४ भदौ, काठमाडौं । देशभर सरकारविरुद्धको आन्दोलनले उग्र रूप लिएको छ ।

प्रदर्शनकारीहरूले नेताहरूको निजी निवास र पार्टी कार्यालयहरूलाई निशाना बनाउँदै देशव्यापी रूपमा आगजनी र तोडफोड गरेका छन्।

सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएको यो घटनामा राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास र प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । त्यसैगरी, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास र पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पनि तोडफोड र आगजनी भएका छन् ।

मन्त्रीनिवास भैँसेपाटीमा पनि आगजनी भएको छ । परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित निवास, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित घर र ऊर्जामन्त्री दीपक खड्काको बुढानिलकण्ठस्थित निवासमा समेत आगजनी भएको छ ।

यसका साथै, कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित निवास, एमालेका सचिव रघुवीर महासेठ र एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा पनि तोडफोड र आगजनी गरिएको छ । स्थिति थप बिग्रन नदिन सुरक्षाकर्मीहरूले नेताहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्।


सम्बन्धित समाचार