२५ भदौ, काठमाडौँ । देशभर जारी तोडफोड, आगजनी र लुटपाटका घटनापछि मंगलबार राति १० बजेदेखि नेपाली सेना सुरक्षाको जिम्मेवारीमा परिचालन गरिएको छ।
नेपाली सेनाले विज्ञप्ति जारी गर्दै नागरिकको जीवन र सम्पत्ति सुरक्षा गर्न तथा सार्वजनिक शान्ति कायम राख्न विशेष भूमिका निर्वाह गर्न सेना खटिएको जनाएको छ। सेनाको नेतृत्वमा सुरक्षा व्यवस्था कडा बनाइएसँगै विभिन्न क्षेत्रमा देखिएका आगजनी, तोडफोड र लुटपाटका गतिविधि नियन्त्रणमा आएको र मुलुकभर अवस्था सामान्य बन्दै गएको जानकारी सेनाले दिएको छ।
काठमाडौं उपत्यकासहित देशभरका संवेदनशील क्षेत्र र मुख्य सडकमा सेनाले सुरक्षा कडाइ गरेको छ। यसै क्रममा, राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखा लुट्न खोज्ने पाँच जनालाई नियन्त्रणमा लिइएको छ। सेनाले अराजक गतिविधि नगर्न चेतावनी दिँदै, आपराधिक गतिविधि देखिए तत्काल खबर गर्न नागरिकलाई आग्रह गरेको छ।
यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पछिल्ला अप्रत्याशित घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सार्वजनिक शान्ति कायम राख्न, अपराध नियन्त्रण गर्न र कानूनी शासनलाई मजबुत बनाउन सबैलाई सहयोग गर्न अपिलसमेत गरेका छन्।
प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न सबैसँग आग्रह गरेका छन्। उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्न नेपाली सेना सधैं प्रतिबद्ध रहेको स्मरण गराउँदै अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई संयमित रहन आह्वान गरेका छन्।















