Logo

२५ भदौ, काठमाडौँ । जेन–जी प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो १२ बजेसम्मका लागि बन्द भएको छ। मंगलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल पूर्ण रूपमा बन्द गरिएपछि बुधबार मध्यान्हसम्म पनि उडान सञ्चालन हुन नसक्ने भएको हो ।

आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले बुधबार बिहान सूचना जारी गर्दै दिउँसो १२ बजेसम्म उडान नहुने जानकारी दिएको छ। कम्पनीले यात्रु वर्गमा परेको असुविधाप्रति क्षमायाचना गर्दै टिकट काटेर यात्रा गर्न नपाएका यात्रुलाई रकम फिर्ता गरिने जनाएको छ ।

देशभरको परिस्थितिका कारण आन्तरिकतर्फ अन्य वायुसेवा कम्पनीहरूको नियमित उडानसमेत स्थगित भएका छन् ।

यसैबीच, वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिन आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। सङ्घका अध्यक्ष मनोज कार्कीले भदौ २३ गतेको आन्दोलनका क्रममा युवामाथि भएको हिंसा र जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

सङ्घले अर्को विज्ञप्ति जारी गर्दै उडान सञ्चालनमा रहेका हेलिकप्टरहरूले कुनै पनि राजनीतिज्ञ वा मन्त्रीलाई सेवा नदिएको स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार